बुटवल, साउन १५ ।
मधुमेहसम्बन्धी सचेतना जगाउने उद्देश्यले बुटवलस्थित एक विद्यालयमा अभिभावकको निःशुल्क मधुमेह परीक्षण तथा सचेतना कार्यक्रम गरिएको छ।
लायन्स क्लब अफ बटौलीको आयोजना तथा अल्फा लियो क्लब अफ स्कलर्सको सहकार्यमा स्कलर्स होम एकेडेमीमा त्रैमासिक परीक्षाको नतिजा प्रकाशनका अवसरमा अभिभावकको निःशुल्क मधुमेह परीक्षण गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर पुरुषोत्तम भक्त प्रधानाङले सानै उमेरदेखि सामाजिक सेवामा आबद्ध गराउने उद्देश्यले लायन्सले विभिन्न अभियान सञ्चालन गर्दै आएको बताए। उनले युवालाई सामाजिक सेवासँग जोड्दै नेतृत्व विकासमा समेत अग्रसर गराउन लायन्स सफल भएको उल्लेख गरे।
विगत पाँच वर्षदेखि मधुमेहसम्बन्धी अभियानमा निरन्तर काम गर्दै आएको बताउँदै प्रधानाङले यस अवधिमा साढे तीन लाखभन्दा बढी व्यक्तिको निःशुल्क मधुमेह परीक्षण गरिएको जानकारी दिए।
“यो अवधिमा साढे तीन लाखभन्दा बढीको निःशुल्क परीक्षण गर्न सफल भएका छौँ,” उनले भने।
करिब एक सय वर्षदेखि आँखा स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको लायन्सले पछिल्ला केही वर्षदेखि मधुमेह र उच्च रक्तचापसम्बन्धी सचेतना अभियानलाई समेत प्राथमिकतामा राख्दै आएको उनले बताए। मधुमेह र उच्च रक्तचाप पनि आँखा कमजोर तथा दृष्टिसम्बन्धी समस्या निम्तिनुका कारक हुन सक्ने भएकाले यस क्षेत्रमा अभियान सञ्चालन गरिएको उनको भनाइ थियो।
मधुमेहलाई उचित खानपान र जीवनशैली व्यवस्थापनमार्फत नियन्त्रण गर्न सकिने बताउँदै उनले समयमै परीक्षण तथा सचेतना आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा लायन्स क्लब अफ बटौलीका अध्यक्ष श्रीधर पोखरेलले ग्लोबल कजअन्तर्गत मधुमेह सचेतना अभियानलाई क्लबले प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बताए। समुदायमा ठूलो संख्यामा मानिस मानसिक स्वास्थ्यसम्बन्धी समस्याबाट प्रभावित भइरहेकाले यस विषयमा पनि सचेतना फैलाउने उद्देश्यसहित अभियानलाई निरन्तरता दिइएको उनले जानकारी दिए।
कार्यक्रममा जीएसटी कोअर्डिनेटर प्रकाशकुमार श्रेष्ठ, विद्यालयका सहायक प्राचार्य टीकाराम गौतम, रिजन चेयरपर्सन रितु गुरुङ, क्लबका संस्थापक अध्यक्ष विनीत भट्टराई तथा एरिया सेक्रेटरी राजु भण्डारीले लायन्सले समुदायमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा रचनात्मक तथा सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताएका थिए।
भवानी सिटी हेल्थ क्लिनिकको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा चार सयभन्दा बढी अभिभावकको निःशुल्क मधुमेह परीक्षण गरिएको कार्यक्रम संयोजक रिती भण्डारीले जानकारी दिइन्।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend