logo
  • शुक्रबार, असोज ३० २०८३

संविधानसभा अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि


  • बिहिबार, भाद्र २८ २०८०

२८ भाद्र
काठमाडौँ । संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन्। लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो ।

त्यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

पशुपति आर्यघाट पुगेर सभामुख देवराज घिमिरे, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायतका विभिन्न राजनीतिक दलका शीर्षनेता, नेता तथा कार्यकर्ता शुभेच्छुकले पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली दिएका थिए ।
बिहीबार बिहान नेम्वाङनिवास बालुवाटारबाट शवयात्रासहित नेम्वाङको पार्थीव शरीरलाई पशुपति आर्यघाट पुर्याइएको हो ।

मंगलबार च्यालसस्थित पार्टी कार्यालयमा राखिएको नेम्वाङको पार्थीव शरीरलाई बुधबार दिउँसो निजी निवास बालुवाटार लगिएको थियो। बिहीबार निजी निवास बालुवाटारबाट शवयात्रासहित उनको पार्थीव शरीरलाई पशुपति आर्यघाट लगिएको हो ।
नेपाली राजनीतिमा शालीन नेताको छवि बनाएका नेम्वाङको अन्तिम बिदाइमा मानिसहरुको उल्लेख्य उपस्थिति छ। पशुपतिको बागमती किनार क्षेत्र भिडले खचाखच छ। नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नेहरुको भीडलाई व्यवस्थित गर्न सुरक्षाकर्मीलाई पनि हम्मेहम्मे परेको छ ।
नेम्वाङको गत मंगलबार निधन भएको थियो। काठमाडौँको बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend