१८ साउन, काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप खेलेर नेपाली राष्ट्रिय टोली बिहीबार नेपाल फर्किएको छ । नेपाली टिमले समूह चरणमा खेलेका तीन मध्ये २ खेल हारेको थियो ।
एसीसी इमर्जिङ टिम्स एसिया कपपछि नेपालले श्रीलंकाका ४ टिमसँग अभ्यास खेल खेल्यो । स्वदेश फर्किएपछि कप्तान रोहित पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै श्रीलंका भ्रमणबाट धेरै कुरा सिकेको बताए ।
‘हामीले यस पटक धेरै कुरा सिकेर आएका छौं ।
हामीले विशेषत ब्याटिङमा सर्ट बलहरुमा काम गरेका छौं’ उनले भने ।नेपालले ५ जना सिनियर खेलाडीलाई श्रीलंका लगेको थिएन । जसले गर्दा नेपाली टिममा युुवा खेलाडीको बाहुल्यता थियो । नेपाली युवा टिमले राम्रो एक्सपोजर सहित सिक्ने मौका पाएको कप्तान रोहित पौडेलले बताए ।
‘युवा खेलाडीले एक्सपोजर पाए । राम्रो टिमसँग भारत ए र पाकिस्तान ए सँग खेलेपछि राम्रो टिमसँग कसरी खेल्ने भन्ने अनुभव बटुले । राम्रो बलिङ र ब्याटिङ भएको टिमसँग खेल्दाको अनुभव पाए । गेम सिनारियो पाए । यसले गर्दा एसिया कपमा मद्धत मिल्नेछ ।’
कप्तान रोहित हाल नेपाली टिम बिस्तारै सिक्दै र बढ्दै गरेको टिम भएकाले ठूलो आशा गर्नु व्यावहारिक नभएको बताए ।
‘एशोसियट क्रिकेट र टेष्ट राष्ट्र फरक स्तर हो हामीले एशोसियटमा जितिरहेका छौं भन्दैमा टेष्ट राष्ट्रसँग पनि गएर जितिन्छ नै भन्ने छैन । अफगानस्तानलाई हेर्दा हुन्छ । उनीहरु पनि विस्तारै अघि बढेका हुन् । हामी आश गरिरहेका छौं कि जाने वित्तिकै सबै टिमहरुलाई जित्छौं तर त्यो व्यावहारिक हुँदैन ।’
उनले अफगानस्तानको उदाहरण दिँदै नेपाली टिमले अहिले उच्च स्तरको टिमसँगको खेलेको हुनाले नतिजा आफ्नो पक्षमा नआएको बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend