logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन मा.विमा ‘सामाजिक विकास मन्त्रीसँग विद्यार्थी’ कार्यक्रम


  • बुधबार, असोज १४ २०८३

बुटवल, असोज १४ । बुटवलको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा बुधबार ‘सामाजिक विकास मन्त्रीसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामजीप्रसाद घिमिरेले विद्यार्थीले शिक्षासँग सम्बन्धित विषयमा सोधेका प्रश्नको जवाफ दिएका थिए।

मन्त्री घिमिरेले देशमा घट्दो जन्मदर, बढ्दो सहरीकरण र बसाइँसराइका कारण विशेषगरी पहाडी क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या घट्ने समस्या देखिएको बताए। तराई क्षेत्रमा भइरहेको तीव्र बसाइँसराइले विद्यार्थी संख्या बढी भएका विद्यालयमा भने पूर्वाधारको चाप बढाएको उनको भनाइ थियो।

उनले विद्यार्थी संख्या बढी भएका विद्यालयको भौतिक पूर्वाधार विकास, शिक्षकको क्षमता अभिवृद्धि र नयाँ प्रविधिको प्रयोग बढाउने योजना प्रदेश सरकारले अघि सारेको बताए। सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०८३र८४ मा शिक्षातर्फ ३ अर्ब ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी उनले दिए।

कार्यक्रममा विद्यार्थीले मन्त्रीको विद्यार्थी जीवन, लुम्बिनी प्रदेशको एसईई सुधार योजना, प्रदेशको शैक्षिक गुणस्तर अभिवृद्धिको योजना, प्राविधिक धारका छात्रालाई छात्रवृत्ति नदिनुको कारण, धेरै विद्यार्थी भएका विद्यालयको भौतिक पूर्वाधार सुधार तथा विकासमा मन्त्रालयको योजना र प्रदेश नमुना विद्यालयमा खेलकुद प्रशिक्षक तथा स्टाफ नर्सको व्यवस्था निरन्तरता नदिनुको कारणलगायत विषयमा प्रश्न गरेका थिए।

कक्षा ११ र १२ का विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा अध्ययनरत दुई–दुई जना विद्यार्थीले मन्त्रीसँग प्रश्न गरेका थिए।

कार्यक्रममा प्रथम त्रैमासिक परीक्षामा विज्ञान, व्यवस्थापन, सिभिल इन्जिनियरिङ, कानुन र शिक्षा समूहमा उत्कृष्ट जीपीए प्राप्त गर्ने २४ जना विद्यार्थीलाई मन्त्री घिमिरेले नगद पुरस्कार प्रदान गरे। उत्कृष्ट विद्यार्थीलाई एक हजारदेखि १० हजार रुपैयाँसम्म गरी कुल ९० हजार रुपैयाँ पुरस्कार वितरण गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ रुपन्देहीका प्रमुख उपसचिव विष्णुप्रसाद पन्थी, सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीका प्रमुख उपसचिव हरिबहादुर बिष्ट, बुटवल उपमहानगरपालिका–११ का वडाध्यक्ष रामचन्द्र क्षेत्रीलगायतको सहभागिता थियो।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य अनिलकुमार ठाकुरको अध्यक्षतामा भएको कार्यक्रम कक्षा ११ विज्ञान समूहकी विद्यार्थी अञ्जना ज्ञवालीले सञ्चालन गरेकी थिइन्। विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयका समग्र गतिविधिबारे जानकारी गराएका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend