logo
  • शुक्रबार, असोज ३० २०८३

नेपाली कांग्रेसको नगर अधिवेशन : बुटवलमा दुई प्यानल चुनावी मैदानमा, हेरौँ तस्बिरहरू


  • बुधबार, असोज ७ २०८३

बुटवल, असोज ७ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज देशभर गाउँ–नगर अधिवेशन सुरु भएको छ । बाढीपहिरोलगायत प्राकृतिक विपद्बाट प्रभावित क्षेत्रबाहेक अधिकांश जिल्लामा अधिवेशनको निर्वाचन प्रक्रिया अघि बढेको कांग्रेसले जनाएको छ ।

लुम्बिनी प्रदेशमा १०९ वटा गाउँ तथा नगरमा अधिवेशनको प्रक्रिया सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अधिकांश स्थानमा उम्मेदवारी दर्तालगायत निर्वाचन प्रक्रिया अघि बढिरहेको छ ।

बुटवल उपमहानगरपालिकामा भने नगर समितिको नयाँ नेतृत्व चयनका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका छन् । नगर सभापतिका लागि वर्तमान उपसभापति ज्योति भण्डारी र कांग्रेस नेता जितबहादुर मल्लले छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका हुन् ।

भण्डारी नेतृत्वको प्यानलबाट उपसभापतिमा गणेश घिमिरे, महिला उपसभापतिमा गंगा पन्थी, सचिवमा अर्जुन गिरी र सहसचिवमा नारायण खनाल उम्मेदवार छन् ।

त्यस्तै, मल्ल नेतृत्वको प्यानलबाट उपसभापतिमा तीर्थराज काफ्ले, महिला उपसभापतिमा करुणा मल्ल, सचिवमा रमेशप्रसाद अधिकारी र सहसचिवमा सूर्यप्रसाद काफ्ले उम्मेदवार बनेका छन् ।

नगर सभापतिका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत जीव नारायण अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले मतदाता परिचयपत्र वितरण तथा निर्वाचनसम्बन्धी आवश्यक प्रक्रिया अघि बढिरहेको छ ।

बुटवल कांग्रेसको नगर नेतृत्वका लागि दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएपछि स्थानीय कांग्रेस वृत्तमा अधिवेशनलाई चासोका साथ हेरिएको छ । दुवै पक्षले आफ्ना उम्मेदवारसहित चुनावी तयारी अघि बढाएका छन् ।

यसअघि नगर अधिवेशनको उद्घाटन गर्दै कांग्रेस नेता बालकृष्ण खाँणले पार्टीको केन्द्रीय नेतृत्वदेखि स्थानीय तहसम्म सकेसम्म सहमति र एकताका साथ अघि बढ्न कार्यकर्तालाई आग्रह गरेका थिए । उनले विभिन्न तहमा सहमतिका लागि प्रयास भइरहेको भन्दै सहमति हुन नसके लोकतान्त्रिक पद्धतिअनुसार मैत्रीपूर्ण प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्नुपर्ने बताएका थिए ।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला बुटवलको नगर अधिवेशनलाई स्थानीय नेतादेखि कार्यकर्तासम्मले चासोका साथ हेरेका छन् । नयाँ नेतृत्वले नगर संगठनलाई कसरी अघि बढाउँछ भन्ने विषय पनि अधिवेशनको परिणामसँगै जोडिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend