logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवल हस्पिटल उत्कृष्ट : अफिन अध्यक्ष खड्का


  • शुक्रबार, साउन ८ २०८३

बुटवल । एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का केन्द्रीय अध्यक्ष पदमबहादुर खड्काले निजी स्वास्थ्य संस्थाहरू सरकारका सहयोगीका रूपमा नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सदैव प्रतिबद्ध रहेको बताएका छन्। उनले निजी स्वास्थ्य संस्थाप्रति सरकारले सौतेलो व्यवहार नगरी समान नीति तथा व्यवहार अवलम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

अफिन लुम्बिनी प्रदेशको अधिवेशनका सिलसिलामा बुटवल आएका अध्यक्ष खड्काले बुटवल हस्पिटल प्रा.लि. को अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै हस्पिटलको सेवा, व्यवस्थापन तथा भौतिक पूर्वाधारको प्रशंसा गरे।

उनले बुटवल हस्पिटलले सरकारी हस्पिटलको तुलनामा अझ व्यवस्थित र सुविधासम्पन्न सेवा प्रदान गरिरहेको उल्लेख गर्दै राजधानी काठमाडौंका धेरै हस्पिटलको तुलनामा पनि यहाँको सेवा–सुविधा र भौतिक संरचना उत्कृष्ट रहेको बताएका छन् ।

हस्पिटल अवलोकनका क्रममा बुटवल हस्पिटल प्रा.लि.का अध्यक्ष चुन्नु प्रसाद पौडेलले यस क्षेत्रका बिरामी सामान्यदेखि जटिल उपचारका लागि काठमाडौं वा अन्य सहर जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यले आधुनिक स्वास्थ्य सेवा स्थानीयस्तरमै उपलब्ध गराउन हस्पिटल विस्तार गरिएको जानकारी दिएका छन् ।

उनले दक्ष विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण तथा गुणस्तरीय सेवामार्फत बिरामीलाई सहज, भरपर्दो र प्रभावकारी उपचार उपलब्ध गराउने लक्ष्यका साथ हस्पिटल निरन्तर अघि बढिरहेको बताएका छन्। अध्यक्ष पौडेलले आगामी दिनमा थप विशेषज्ञ सेवा विस्तार गर्दै अत्याधुनिक प्रविधि भित्र्याउने योजना रहेको जानकारी दिएका छन्।

यसैबीच, अफिन लुम्बिनी प्रदेशका अध्यक्ष रामप्रसाद खरेलले बुटवल हस्पिटल लुम्बिनी प्रदेशकै स्वास्थ्य सेवाको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको उल्लेख गर्दै यसले निजी स्वास्थ्य क्षेत्रमा सकारात्मक उदाहरण प्रस्तुत गरेको बताए ।
बुटवल–६, चाँदबारी चोकमा रहेको बुटवल हस्पिटल प्रा.लि. सरकारबाट १०० शैयाको सञ्चालन अनुमति प्राप्त बहुविशेषज्ञ हस्पिटल हो। हस्पिटलमा हाल ३५ जना विशेषज्ञ चिकित्सकसहित करिब ३०० जना कर्मचारी कार्यरत छन्।

हस्पिटलले हालै अत्याधुनिक सिटी स्क्यान  सेवा सञ्चालनमा ल्याएका छन् । यसबाट यस क्षेत्रका बिरामीले थप सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend