काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ अन्तर्गत श्रावण ४ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको ७३.६१ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सार्वजनिक गरेको प्रदेशगत रोपाइँ विवरणअनुसार यस अवधिसम्म १३ लाख ७३ हजार ६६२ हेक्टर क्षेत्रफलमध्ये १० लाख ११ हजार ३०२ हेक्टर क्षेत्रमा धान रोपाइँ सकिएको हो । गत वर्ष यही अवधिमा देशभर ७२.१५ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा ९०.६७ प्रतिशत, लुम्बिनी प्रदेशमा ८०.६५ प्रतिशत, गण्डकी प्रदेशमा ९८.३६ प्रतिशत, बागमती प्रदेशमा ७७.३३ प्रतिशत, कर्णाली प्रदेशमा ७७.०५ प्रतिशत, कोशी प्रदेशमा ७३.१४ प्रतिशत तथा मधेश प्रदेशमा ५७.९२ प्रतिशत रोपाइँ भएको छ ।
तथ्याङ्कअनुसार कोशी प्रदेशमा २ लाख ४ हजार ३४७ हेक्टर, मधेश प्रदेशमा २ लाख २१ हजार ५४६ हेक्टर, बागमती प्रदेशमा ८८ हजार ५५७ हेक्टर, गण्डकी प्रदेशमा ७३ हजार ३४९ हेक्टर, लुम्बिनी प्रदेशमा २ लाख ४३ हजार ४२ हेक्टर, कर्णाली प्रदेशमा ३३ हजार ३५३ हेक्टर तथा सुदूरपश्चिम प्रदेशमा १ लाख ४७ हजार १०६ हेक्टर क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ।
श्रावण महिनासँगै अधिकांश क्षेत्रमा मनसुन सक्रिय बनेपछि रोपाइँले गति लिएको छ । तर मधेश प्रदेशका केही जिल्लामा पर्याप्त वर्षा हुन नसक्दा रोपाइँको गति अपेक्षाकृत सुस्त रहेको तथ्याङ्कले देखाएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend