logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी प्रदेश प्रहरी कार्यसम्पादनमा देशकै उत्कृष्ट, डीआईजी खत्रीको नेतृत्वलाई सफलता


  • शनिबार, असार १३ २०८३

बुटवल। प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभर पहिलो स्थान हासिल गरेको छ ।

प्रहरी प्रधान कार्यालयले मातहतका प्रदेश प्रहरी कार्यालयहरूको कार्यसम्पादन, अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट ठहरिएको हो ।

डीआईजी खत्रीको नेतृत्वमा लुम्बिनी प्रहरीले प्रविधिमैत्री सेवा, नागरिकसँगको सम्बन्ध सुधार तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न नव प्रवर्तनात्मक अभियान सञ्चालन गर्दै आएको छ ।

प्रहरी सेवा प्रवाहलाई सहज, छिटोछरितो र प्रभावकारी बनाउन डिजिटल उजुरी प्रणाली, एसएमएसमार्फत सेवाग्राहीलाई जानकारी दिने व्यवस्था लगायतका प्रविधिको प्रयोग विस्तार गरिएको छ । साथै, साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘ह्याक फर सेफ्टी’ जस्ता कार्यक्रम सञ्चालन गरी प्रहरी सेवामा नयाँ अभ्यासको सुरुआत गरिएको छ ।

नागरिक केन्द्रित प्रहरी सेवाको अवधारणालाई व्यवहारमा उतार्दै डीआईजी खत्रीले मातहतका जिल्ला प्रहरी कार्यालय तथा सीमावर्ती प्रहरी इकाइहरूको नियमित अनुगमन गर्दै सेवा प्रवाहमा पारदर्शिता, जबाफदेहिता र गुणस्तर अभिवृद्धिमा विशेष जोड दिएका छन् ।

लुम्बिनी प्रदेश प्रहरीले सीमा सुरक्षा, अपराध नियन्त्रण, मानव बेचबिखन तथा ठगीविरुद्ध विशेष अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको छ । भारतको कुशीनगर लगायतका विभिन्न स्थानमा बन्धक बनाइएका सयौँ नेपाली नागरिकको उद्धार तथा सङ्गठित अपराध सञ्जालमाथि गरिएको कारबाहीले प्रहरीको प्रभावकारिता थप पुष्टि गरेको छ ।

प्रविधिको उच्चतम प्रयोग, कडा अनुशासन, व्यावसायिक नेतृत्व र नागरिकमैत्री सेवाका कारण डीआईजी खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरीले सङ्गठनभित्र मात्र नभई आम नागरिकमाझ समेत सकारात्मक छवि निर्माण गर्न सफल भएको छ ।

यही प्रभावकारी कार्यसम्पादनकै आधारमा लुम्बिनी प्रदेश प्रहरीले देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये उत्कृष्ट स्थान हासिल गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend