राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा रूपन्देहीकी कल्पना पाण्डे निर्वाचित भएकी छन्। चितवनमा सम्पन्न पार्टीको महाधिवेशनबाट पाण्डे लुम्बिनी प्रदेशको भूगोलतर्फबाट सबैभन्दा बढी मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा विजयी भएकी हुन्।
केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पाण्डेले सम्पूर्ण महाधिवेशन प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेकी छन्। उनले आफूलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिएको भन्दै सबैप्रति कृतज्ञता प्रकट गरेकी हुन्।
निर्वाचनपछि जारी गरेको धन्यवाद सन्देशमा पाण्डेले महाधिवेशन प्रतिनिधिहरूले देखाएको विश्वास, साथ र सहयोगको उच्च सम्मान गर्दै प्राप्त जिम्मेवारीलाई पूर्ण निष्ठा, इमानदारी र समर्पणका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएकी छन्।
उनले पार्टीको उद्देश्य, सिद्धान्त र जनअपेक्षाअनुरूप काम गर्दै संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका खेल्ने बताएकी छन्। आगामी दिनमा पनि सबैको निरन्तर साथ, सुझाव र सहयोगको अपेक्षा राख्दै उनले पुनः धन्यवाद ज्ञापन गरेकी छन्।
रूपन्देहीबाट राजनीतिक गतिविधिमा सक्रिय पाण्डेको केन्द्रीय सदस्यमा निर्वाचनलाई जिल्लाका रास्वपा कार्यकर्ताले उत्साहजनक रूपमा लिएका छन्। पाण्डे यसअघि लुम्बिनी प्रदेश सरकारमा मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेकी नेतृ हुन्। उनकाे निर्वाचनले रास्वपामा लुम्बिनी प्रदेशको प्रतिनिधित्व थप बलियो हुने अपेक्षा गरिएको छ।