logo
  • शुक्रबार, असोज ३० २०८३

नवीन औद्योगिक कदर बहादुर रीता माविमा कक्षा ११ का विद्यार्थीको अभिमुखीकरण सम्पन्न


  • बुधबार, असार ३ २०८३

बुटवल, जेठ ३
नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा विज्ञान तथा सिभिल इन्जिनियरिङ्ग संकायमा भर्ना भएका कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै इलाका प्रशासन कार्यालय बुटवलका प्रमुख तथा नेपाल सरकारका उपसचिव श्रीनाथ पौडेलले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादनका लागि परिचित विद्यालयमा अध्ययन गर्ने अवसर पाउनु विद्यार्थीहरूको लागि महत्वपूर्ण उपलब्धि भएको बताए। उनले विद्यार्थीहरूले आफ्नो रुचिअनुसार विषय छनोट गरी अध्ययन गरेमा सफलता हासिल गर्न सहज हुने उल्लेख गरे।उपसचिव पौडेलले कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरू किशोरावस्थामा हुने भएकाले उनीहरूको ऊर्जा, आत्मविश्वास र क्षमतालाई सकारात्मक गतिविधिमा केन्द्रित गर्न आवश्यक रहेको बताए। विद्यालयले औपचारिक शिक्षासँगै सीपमूलक शिक्षा पनि प्रदान गरिरहेको उल्लेख गर्दै त्यसबाट लाभ लिन विद्यार्थीहरूलाई आग्रह गरे।बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विज्ञान संकाय कक्षा १२ की विद्यार्थी प्रतिज्ञा चन्दले सञ्चालन गरेकी थिइन्। कार्यक्रममा उत्प्रेरणात्मक वक्ता डा. आविष्कार पराजुलीले विद्यार्थीहरूलाई अध्ययन, करियर निर्माण र व्यक्तित्व विकासका विविध पक्षबारे सहजीकरण गरेका थिए।विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको भौतिक, शैक्षिक, व्यवस्थापकीय तथा आर्थिक अवस्थाबारे जानकारी गराउँदै विद्यालयले भोगिरहेका चुनौतीहरू पनि प्रस्तुत गरे। सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थी आचारसंहिता–२०८३ अन्तर्गत अनुशासन, पोशाक तथा कपाल व्यवस्थापनलगायत विषयमा जानकारी दिएका थिए।विज्ञान संकायका इन्चार्ज लक्ष्मीनारायण चौधरीले विज्ञान तथा सिभिल इन्जिनियरिङ्ग अध्ययन गर्ने विद्यार्थीहरूले ध्यान दिनुपर्ने विषयहरूबारे प्रष्ट पारे। नवीन विद्यार्थी क्लबका अध्यक्ष लक्ष्मी पाण्डेले क्लबका गतिविधि तथा उद्देश्यबारे जानकारी गराएकी थिइन्।यस अवसरमा जेठ २९ गते सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीद्वारा आयोजित रुपन्देही र नवलपरासी जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा प्रथम स्थान हासिल गर्ने विद्यार्थी एलिशा थापा, सिर्जना यादव र टिकादेवी चौधरीलाई सम्मान गरिएको थियो। त्यस्तै, स्टेम (STEM) प्रतियोगितामा तृतीय स्थान प्राप्त गर्ने प्रमोद आचार्य र प्रतिज्ञा चन्द तथा उनीहरूलाई समन्वय गर्ने भौतिकशास्त्र शिक्षक विनयकुमार विकलाई पनि सम्मान गरिएको थियो।कार्यक्रममा विज्ञान संकायका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुति दिएका थिए। विद्यालयमा हाल विज्ञान, सिभिल इन्जिनियरिङ्ग, व्यवस्थापन, होटल व्यवस्थापन, कानुन तथा शिक्षा संकायमा अध्यापन हुँदै आएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend