logo
  • शुक्रबार, असोज ३० २०८३

बजार अभावले तरकारी सडेर नष्ट, थोक बजारमा सिन्डिकेटको आरोप


  • शुक्रबार, बैशाख ११ २०८३

बुटवल । १२ वैशाख
रूपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजार प्रा।लि।मा ल्याइएका तरकारी बिक्री हुन नसक्दा सडेर फाल्नुपरेको भन्दै किसानहरूले गुनासो गरेका छन्।
देशका विभिन्न जिल्लाबाट थोक बिक्रीका लागि ल्याइएका तरकारी ग्राहक अभावका कारण थन्किएर बस्न बाध्य भएका छन्। बुटवल उपमहानगरपालिका–६ मा रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ लगायत अन्य हाटबजारमा बिक्री गर्न नपाउँदा तरकारी सुकेर तथा कुहिएर नष्ट हुने अवस्था आएको किसानहरूको भनाइ छ। ती स्थानमा सिन्डिकेटका कारण नयाँ किसानहरूले आफ्नो उत्पादन बिक्री गर्न नपाएको उनीहरूको आरोप छ।
किसानहरूका अनुसार बजार व्यवस्थापनको कमजोरी र पहुँच अभावले उनीहरू प्रत्यक्ष रूपमा मारमा परेका छन्। उत्पादन गरेर बजारसम्म ल्याए पनि उचित बिक्रीको वातावरण नहुँदा ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उनीहरूले बताएका छन्।
नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रीता केसीले बुटवलस्थित फलफूल तथा तरकारी थोक बजार केन्द्रका व्यापारीहरूको सिन्डिकेटका कारण स्वदेशमा उत्पादित कृषि उपजको बिक्री वितरणमा समस्या उत्पन्न भएको आरोप लगाइन्। उनका अनुसार भारतीय तरकारी तथा फलफूलले सहजै बजारमा प्रवेश पाउने, तर स्वदेशी उत्पादनले स्थान नपाउने अवस्था हुनु दुःखद र चिन्ताजनक विषय हो।

केसीले बुटवल उपमहानगरपालिका–६ मा रहेको ‘बुटवल कृषि उपज थोक बजार केन्द्र’ को पुनः टेन्डर प्रक्रियामा ढिलाइ भइरहेकोप्रति असन्तुष्टि जनाइन्। किसानका नाममा छुट्याइएका सटरहरू व्यापारीहरूले कब्जा गरेको समेत उनको आरोप छ।
उनले विभिन्न जिल्लाबाट किसानहरूले उत्पादन गरी ल्याएका मुला, फूलगोभी, टमाटर लगायतका तरकारीहरू बिक्रीका लागि बजार केन्द्रमा पटक–पटक आग्रह गर्दा पनि स्थान नपाएको बताइन्। बाध्य भएर अन्य हाटबजारमा गाडीमै राखेर लैजाँदा पनि बिक्री गर्न नदिएको गुनासो उनले गरिन्।किसानहरूले लाखौं रुपैयाँ बराबरको तरकारी नष्ट हुँदा त्यसको क्षतिपूर्ति कसले दिने—स्थानीय, प्रदेश वा संघीय सरकारलेभन्ने प्रश्न समेत उठाएका छन्।किसानहरूले सम्बन्धित निकायलाई बजार व्यवस्थापन प्रभावकारी बनाउन, स्वदेशी उत्पादनलाई प्राथमिकता दिन तथदीर्घकालीन समाधान खोज्न माग गरेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend