logo
  • शुक्रबार, असोज ३० २०८३

रुपन्देहीमा सवारीचालकलाई ट्राफिक सचेतना प्रशिक्षण


  • शनिबार, चैत्र २८ २०८२

बुटवल,२७ चैत। तिलोत्तमा नगरपालिका भित्र रहेका शैक्षिक संस्थाका प्रमुख तथा सवारी चालकहरुलाई ट्राफिक सचेतना सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ।

सुरक्षित यात्रा नेपालको आयोजनामा विद्यालय सञ्चालक तथा सवारी चालकहरुको ट्राफिक सचेतना अभिवृद्धि गर्दै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो। सुरक्षित यात्रा नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बेलबासेका अनुसार कार्यक्रममा विद्यालय सवारी सञ्चालनसँग सम्बन्धित करिब २ सय चालकहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा नेपाल ट्राफिक प्रहरीका वरिष्ठ नायब निरीक्षक ज्ञानु पाण्डेले सहजीकरण गर्दै सवारी दुर्घटनाका मुख्य कारणहरूबारे प्रकाश पारे। उनले सवारीको अत्यधिक गति, मादक पदार्थ सेवन गरी सवारी चलाउने, ट्राफिक नियमको उल्लङ्घन, चालकको लापरवाही तथा सिट क्षमता भन्दा बढी यात्रु बोक्ने प्रवृत्तिले दुर्घटना निम्त्याउने भएकाले चालकहरू सचेत हुनुपर्ने बताए।

प्रशिक्षणका क्रममा सवारीको बत्ती प्रयोग, ओभरटेक गर्ने तरिका, लेन अनुशासन, ब्रेकिङ दूरी, गति नियन्त्रण, सवारी प्राथमिकता, ट्राफिक संकेत चिन्ह, कानुनी व्यवस्था तथा दुर्घटनापछि नागरिकको भूमिका लगायत विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी चालकहरूले सडकको कमजोर अवस्थाले पनि दुर्घटनाको जोखिम बढाएको औँल्याएका थिए। विशेषगरी मणिग्राम चोक क्षेत्रमा सडकको अवस्था जटिल रहेकाले सवारी सञ्चालनमा कठिनाइ भएको गुनासो गर्दै यसको सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गएको प्रशिक्षण कार्यक्रम संयोजक दीपक ढकालले जानकारी दिए ।
त्यसैगरी सवारीको प्राविधिक अवस्था, छाडा चौपाया तथा रिक्सा जस्ता साना सवारी साधनहरूले पनि दुर्घटनाको जोखिम बढाएको विषयमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने सहभागीहरूको जोड थियो।
कार्यक्रममा नेपाल ट्राफिक प्रहरी तथा राजमार्ग सुरक्षा व्यवस्था कार्यालय, लुम्बिनी प्रदेश बुटवलका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्मा, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल तथा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि रमेश डुम्रे लगायतले मन्तव्य व्यक्त गरेका थिए।

तिलोत्तमा नगर कार्यपालिकाको सहकार्य तथा नेपाल ट्राफिक प्रहरी र राजमार्ग सुरक्षा व्यवस्था कार्यालय लुम्बिनी प्रदेश, बुटवलको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन नेपाल प्रहरीका प्रहरी निरीक्षक प्रतिमा कार्कीले गरेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend