बुटवल, चैत २५
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारण सभा तथा अधिवेशनअन्तर्गत कार्यकारिणी सदस्य (खुल्ला तर्फ) पदमा उम्मेदवारी घोषणा गरेका छन्।
अर्यालले देशभरका जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मुख्य प्रतिनिधिहरूसँग आफ्नो पक्षमा मत दिन आग्रह गर्दै निर्वाचित भए उद्योग तथा व्यापार क्षेत्रको सुदृढीकरणका लागि विभिन्न योजनामा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनका अनुसार क, ख र ग वर्गका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई छुट्टाछुट्टै समूहमा विभाजन गरी नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिनेछ। साथै, कर, राजश्व, भन्सार, उद्योग तथा वाणिज्यसम्बन्धी आधारभूत जानकारीसँगै अन्तरदेशीय व्यापारबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले बताए।
अर्याल बुटवल उद्योग वाणिज्य संघका आधिकारिक उम्मेदवार हुन्। उनले जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूको सचिवालयलाई चुस्तदुरुस्त बनाउँदै स्थानीय स्तरमा उद्योग–व्यापारमैत्री पूर्वाधार विकास तथा आर्थिक एजेन्डामा बहस चलाउने वातावरण निर्माण गर्ने बताएका छन्।
उनले स्थानीय तहसँग सहकार्य गरी स्थानीय उत्पादनको लागत घटाउने, बजार प्रवर्द्धनमा सहजीकरण गर्ने तथा प्राकृतिक स्रोतमा आधारित उद्योगमार्फत रोजगारी सृजना गर्ने लक्ष्यसमेत अघि सारेका छन्।
त्यसैगरी, महासंघअन्तर्गत जिल्ला तथा नगरतर्फका कार्यकारिणी सदस्यहरूको भूमिका थप प्रभावकारी बनाउन विषयगत कार्यविभाजन, क्षमता अभिवृद्धि र संघहरूबीच समन्वय बढाउने योजना पनि उनले सार्वजनिक गरेका छन्।
अर्याललाई बुटवल उद्योग वाणिज्य संघले आधिकारिक रूपमा उम्मेदवारका रूपमा सिफारिस गरेको हो। व्यवसायीहरूको हितमा काम गर्ने प्रतिबद्धतासहित उनले सम्पूर्ण प्रतिनिधिहरूसँग साथ, समर्थन र मतको अपिल गरेका छन्।
महासंघको अधिवेशन यही चैत २९ र ३० गते काठमाडौंमा हुने तय गरिएको छ।