काठमाडौं। पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरान दुई हप्ताको युद्धविराममा सहमत भएका छन्।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानको नेतृत्वसँग भएको वार्तापछि इरान होर्मुज जलघाँटी (स्ट्रेट अफ होर्मुज)बाट जहाजहरूको आवागमन अनुमति दिन सहमत भएसँगै अमेरिका र इरानबीच युद्धविराम लागू भएको बताएका छन्।
उनले भने, “म इरानमाथि बमबारी र आक्रमण दुई हप्ताका लागि रोक्न सहमत भएको छु।”
ट्रम्पले यस युद्धविराममा दुवै पक्ष सहमत भएको बताए। इरानमाथि “विनाशकारी आक्रमण” गर्ने ट्रम्पको समयसीमा नेपाली समयअनुसार बुधबार बिहान ५ः४५ बजे सकिँदै थियो। त्यसको ठीक १० मिनेटअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो युद्धविराम ‘तत्काल प्रभाव’बाट लागू भएको घोषणा गरेका थिए।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पनि युद्धविराम सम्झौताको पुष्टि गरेको छ।
मेहर समाचार एजेन्सीद्वारा प्रकाशित वक्तव्यमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले पाकिस्तानको मध्यस्थतामा भएको भनिएको दुई हप्ते युद्धविराम सम्झौताको पुष्टि गरेको हो।
वक्तव्यमा भनिएको छ कि उक्त युद्धविराम सम्झौता इरानका नयाँ सर्वोच्च नेतृत्त्व मोज्तबा खामेनीको स्वीकृतिमा सम्पन्न भएको हो।
साथै, उक्त सम्झौताले “इरानका लागि विजय” भएको बताइएको छ र स्थायी सम्झौताका लागि वार्ता इस्लामाबादमा गरिने पनि उल्लेख गरिएको छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend