logo
  • शुक्रबार, असोज ३० २०८३

नवीनमा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, विविध सांस्कृतिक प्रस्तुति आकर्षण


  • सोमबार, चैत्र २३ २०८२

बुटवल, चैत २३ ।
नवीन औद्योगिक कदरबहादुर रिता माध्यमिक विद्यालय, देवीनगरमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई कक्षा ११ का विद्यार्थीहरूले आयोजना गरेको विदाई तथा शुभकामना कार्यक्रम सोमबार भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले कक्षा ११ का विद्यार्थीहरूले व्यवस्थित रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रशंसा व्यक्त गर्दै कक्षा १२ का विद्यार्थीहरू उमेर र शिक्षाको हिसाबले जिम्मेवार बन्नुपर्ने बताए। उनले बदलिँदो शिक्षा प्रणालीअनुसार अवसरको सदुपयोग गर्दै समयअनुकूल, सीपयुक्त र सक्षम जनशक्ति बन्न आग्रह गरे। साथै जीवनमा सफल भई घर, परिवार, समाज र राष्ट्रका लागि योगदान दिन सक्ने जनशक्ति उत्पादनमा विद्यालय सफल भएको उल्लेख गरे।
त्यसैगरी, बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले नवीन विद्यालयले सक्षम विद्यार्थी उत्पादन गर्दै आएको भन्दै यहाँका विद्यार्थीहरू स्वदेश तथा विदेशका विभिन्न क्षेत्रमा उच्च पदमा पुग्ने विश्वास व्यक्त गरे। उनले विद्यार्थीहरूको क्षमता, दक्षता र अनुशासनले विद्यालय मात्र नभई वडा र उपमहानगरपालिकालाई समेत गर्व गराएको बताए।
नवीन विद्यार्थी क्लबकी अध्यक्ष तथा कक्षा ११ विज्ञान समूहकी लक्ष्मी पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नितु गौड, विवेक कुशबाहा, रूपा ढकाल र शोभा पाण्डेले सञ्चालन गरेका थिए।


कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खरेल, प्रधानाध्यापक प्रेमबहादुर बस्नेत, सहायक प्रधानाध्यापकहरू अर्जुन खनाल र रोमनाथ घिमिरे, सिभिल इन्जिनियरिङ इन्चार्ज सपना भट्टराई, इन्जिनियर बिमल अर्याल, विज्ञान समूह इन्चार्ज लक्ष्मीनारायण चौधरी, व्यवस्थापन समूहका जयराम पन्थी र केशवराज पन्थ, कानुन समूहका इन्चार्ज अधिवक्ता लोकप्रसाद खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा सामाजिक विषय शिक्षक अनिल पहाडीको नेतृत्वमा कक्षा ६, ७ र ८ का विद्यार्थीहरूले नहरा, मङ्गलधुन, तीनताल तथा पन्चेबाजा प्रस्तुत गरी माहोल थप रोचक बनाएका थिए। बाजा बजाउने विद्यार्थीहरूलाई प्रमुख तथा विशिष्ट अतिथिबाट सम्मान गरिएको थियो।

यसैगरी, सांस्कृतिक कार्यक्रम संयोजक अर्जुन शाह ठकुरीको नेतृत्वमा विद्यार्थीहरूले समसामयिक नृत्य प्रस्तुत गरेका थिए भने राष्ट्रिय सेवा दलका सिनियर डिभिजन क्याडेटहरूले राष्ट्रियता झल्किने आकर्षक नृत्य प्रस्तुत गरी दर्शकको मन जितेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend