रुपन्देही । रुपन्देही क्षेत्र नंं ४ मा कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले आफू विकासको स्पष्ट खाका लिएर आएको र त्यो पूरा गर्न नसके अर्को पटक उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
निर्वाचन क्षेत्रमा सञ्चारकर्मीहरुसंग आफ्ना चुनावी प्रतिवद्धताबारे जानकारी दिंदै मिश्रले मर्चवार क्षेत्रमा यसअघि अन्य दलबाट निर्वाचित सांसदहरुले जनताको माग अनुसारका काम गर्न नसक्दा यो क्षेत्र सडक पुर्वाधार, शिक्षा, स्वास्थ्यमा पछि परेको हुंदा आफूले यी समस्या समाधान गर्ने वाचा गरेर उम्मेदवार बनेको बताए ।
मिश्रले मर्चवारमा सुविधासम्पन्न अस्पताल, प्राविधिक कलेज, सरकारी विद्यालयको गुणस्तर सुधार, किसानलाई समयमा मल र बिउ सजिलै पाउने व्यवस्था र सिंचाई सुविधा विस्तार, मर्चवारलाई लुम्बिनीसंग जोड्न पुल निर्माण, हुलाकी सडक जोड्ने सडकहरु कालोपत्रे,मर्चवारलाई अन्न भण्डारको रुपमा थप विकास गर्ने र लुम्बिनी घुम्न आउने पर्यटकलाई मर्चवार पनि घुम्ने व्यवस्था गर्ने लगायतका आफ्ना चुनावी प्रतिवद्धता रहेको बताए ।
आफूले गरेका यी प्रतिवद्धता ५ वर्षमा पूरा गर्न नसके अर्को पटक उम्मेदवार नबन्ने भन्दै उनले यसपटक विश्वास गरेर मत दिन आग्रह गरे । आफू लामो समयदेखि स्थानीयसँग भिजेको र विकासको स्पष्ट खाका भएकाले मतदाताले नै जित सुनिश्चित भएको बताएकाले आफू उत्साहित भएको बताए । अन्य दल र स्वतन्त्र मतदाताबाट सहयोग हुंदा पार्टीभित्रैबाट कतिपय नेताहरुले चुनावमा असहयोग गरेपनि आफ्नो जित हुनेमा ढुक्क रहेको मिश्रले बताए ।

यस निर्वाचन क्षेत्रमा हेभीवेट उम्मेदवारका रूपमा जसपा नेपालका सर्वेन्द्रनाथ शुक्ला छन् । उनी आठौँ पटक उम्मेदवार बनेका हुन् ।
शुक्लालाई कांग्रेसका नयाँ र बुद्धिजिवी युवा उम्मेदवार आशुतोष मिश्र, यस अघिको निर्वाचनमा तेस्रो बनेका जनमत पार्टीका भोपेन्द्र यादव र कांग्रेसबाट टिकट नपाएपछि अन्तिममा एमाले प्रवेश गरेर उम्मेदवार बनेका प्रमोद यादवले चुनौती दिएका छन् ।
तुलनात्मक रूपमा यो निर्वाचन क्षेत्र रुपन्देहीको कम विकसित क्षेत्र मानिन्छ । यहाँ २०७९ मा शुक्ला निर्वाचित भएका थिए । त्यतिबेला कांग्रेसका प्रमोद यादव दोस्रो र जनमत पार्टीका भोपेन्द्र यादव तेस्रो स्थानमा आएका थिए । उक्त निर्वाचनमा एमालेले आफ्नो उम्मेदवार नउठाएर जसपा नेपाललाई सघाएको थियो ।
विगतका निर्वाचन परिणामलाई हेर्ने हो भने यहाँ एमालेको खासै संगठन देखिँदैन । यो निर्वाचनका लागि एमालेले उम्मेदवारी मनोनयन दर्ताको केही घण्टा अघिमात्र कांग्रेसका नेता प्रमोद यादवलाई पार्टी प्रवेश गराएर उम्मेदवार बनाएको हो । रास्वपाका उम्मेदवार बानियाँ र एमालेका उम्मेदवार यादव अन्तिम समयमा आफ्नो साविकको पार्टी त्यागेर अर्को पार्टीबाट उम्मेदवार बनेका हुन् ।
अन्तिम समयमा दल परिवर्तन गरेर आउने उम्मेदवारलाई मतदाताले पत्याउने सम्भावना कम रहेको निर्वाचन क्षेत्रमा छ । अझ प्रदेश सभा सदस्यको कार्यकाल बांकी छंदै आफनो जिम्मेवारी र दायित्व लत्याएर स्वार्थपूर्तिका लागि राजीनामा दिएर संघीय सांसदमा उम्मेदवार बनेको भन्दै बानियाप्रति क्षेत्रका मतदाता रुष्ट देखिएका छन् ।

जनमत पार्टीका भोपेन्द्र यादवले अघिल्लो निर्वाचनमा आफू तेस्रो भए पनि अहिले पहिलो बन्ने आधार रहेको बताउँछन् । आफू वर्षौंदेखि निरन्तर निर्वाचन क्षेत्रमा खटिरहेको उल्लेख गर्दै उनले मतदाताको विश्वास पाइरहेको बताए ।
नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले तुलनात्मक रूपमा विगतदेखि यहाँ कांग्रेसको संगठन केही बलियो देखिएको बताउँदै मतदाताले जिताउने बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend