logo
  • शुक्रबार, असोज ३० २०८३

कोलिय गणराज्यको दरबारक्षेत्र दावी गरिएको खयरडाडाँमा भेटियो प्राचिन इनार


  • शुक्रबार, असार २२ २०८०

बुटवल, असार २२ ।

बुद्धको मावली क्षेत्र देवदहको प्राचिन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह ९ खयरडाडाँमा गरेको उत्खननमा प्राचिन इनार र मध्यकालिन भवनको अवशेष भेटिएको हो ।

गत जेठ १७ गतेदेखि शुरु गरि असार १५ गतेसम्म करिव एक महिनासम्म गरिएको उत्खननबाट प्राचिन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इट्टा, माटोको दियोहरु प्रशस्त टेठिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए ।

‘प्राचिन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साईजका इट्टा भेटिएको छ’पुरातात्वविद् उप्रेतीले भने –‘मध्यकालिनजस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’ उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरु प्रशस्त भेटिएको छ । पुरातात्वविद उप्रेतीका अनुसार भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यानकेन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिन्छ । स्थानीयहरुले भने देवदह ९ घोडाहा स्थित खयरडाँडाक्षेत्र नै गौतम बुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरवार क्षेत्र भएको बताउँदै आएका छन ।

उत्खननमा केहि प्राचिन इनारसँगै ध्यानकेन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरु प्रशस्त भेटिएकाले देवदहको दावीलाई बल पुगेको बताईन्छ ।

लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भएपनि हुन सकेको थिएन । देवदह क्षेत्रबाटै लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराई नियुक्त भएपछि उत्खननलाई बिशेष महत्व दिदैं बर्षोपछि उत्खनन थालिएको हो । उत्खननले प्राचिन इनार र भग्नाअवेषहरु पत्ता लागेले यसले देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण फेला पारेको कोषाध्यक्ष भट्टराईले बताए । उनले स्थानीयहरुले दरबार क्षेत्र नै खयरडाँडा क्षेत्र भएको बताएपनि उत्खननले प्राचिन क्षेत्रको रुपमा पुष्टि गरेको बताए । उनले देवदहको खोजीका लागि निरन्तर उत्खनन गर्नुपर्नेमा जोड दिए ।

उत्खननबाट प्राप्त भएका पुरातात्वीक वस्तुहरुलाई संरक्षण गर्नका लागि संग्रालय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले बताए । लुम्बिनी विकास कोषका पुरातात्व शाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा पुरातात्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिएका थिए ।यसअघि कोषले बैरीमाई, कन्यामाई र पुरातात्व विभागले भवानीपुरमा उत्खनन गरेको थियो । कोषले यहि आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार कपिलबस्तुको गोटिहवामा गत चैत २५ गतेदेखि जेठ ३ गतेसम्म उत्खनन गरेको थियो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend