logo
  • शुक्रबार, असोज ३० २०८३

सर्लाहीमा ‘आरजु भाउजु जिन्दावाद’


  • बिहिबार, साउन ११ २०८०

१० साउन, जनकपुर ।

कांग्रेस केन्द्रीय समिति जारी छँदै केन्द्रीय सदस्य आरजु राणा देउवा सोमबार मधेश झरिन् । जनकपुरमा एक रात बसेर सर्लाही धनकौल गाउँपालिकामा पार्टीले आयोजना गरेको क्षेत्रीय सम्मेलनमा उनी म‌ंगलबार दिउँसो पुग्दा माला लगाउन तँछाडमछाड गर्नेहरुको ठूलै समूह थियो ।

सर्लाही ४ मा पर्ने यो पालिकामा आरजुलाई माला लगाउन ठेलमठेल भिडमा थिए, कांग्रेसका प्रदेश सांसद जंगीलाल राय, जिल्ला सभापति सुरेन्द्र सिंह, कांग्रेस जिल्ला सचिव निरज कार्की, जिल्ला पूर्व सभापति नागेन्द्र यादव इत्यादि ।

मालाले आरजु पुरिँदै गर्दा नारा लाग्यो, ‘आरजु भाउजु जिन्दावाद । आरजु भाउजु जिन्दावाद ।’ लगातार त्यही नारा गुन्जिइरह्यो । एकाध पल्ट ‘नेपाली कांग्रेस जिन्दावाद’ ।

आरजुकै साथमा मधेश प्रदेशका काँग्रेस सभापति समेत रहेका प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री कृष्ण यादव पनि आएका थिए । भेलामा सहभागीहरु व्यक्तिका नाममा नारा लागेको घटना अनौठो लागेको सुनाउँदै थिए ।

नारा र मालामा मखलेल आरजुले मधेसलाई अर्को साल टन्नै बजेट छुट्याउने बाचा गर्न भ्याइहालिन् । उनले सभामा थुप्रै आश्वासन पनि बाँडिन् ।

आरजुलाई नारामा भाउजु पुकार्नेहरुले कांग्रेसकी एक नेतृ नभई पूर्वप्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाकी पत्नीका रुपमा सम्बोधन गरी पटक पटक नारा लगाउनु अनौठो थियो । कांग्रेसका एक जिल्ला नेताले भने, ‘व्यक्तिका नाममा नारा लगाउने हाम्रो कल्चर होइन, यहाँ यस्तै भयो आज ।’

कांग्रेस मधेसका प्रदेश सांसद जंगीलाल राय भने पार्टीको मञ्चबाट लगाएको नारा नभई भिडभाडको माहोलमा नारा लागेको तर्क गर्छन् । ‘भिडभाडमा एउटाले कराउँदा अरु पनि कराए होलान्, योजनाबद्ध होइन,’ उनले भने, ‘हौसलामा जनताले कराउँछन् नि, हो त्यस्तै ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend