बुटवल, पुस ६
लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीमा २०२५ को प्रथम हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ। आठ दिनसम्म चलेको उक्त प्रदर्शनीले चिनियाँ एनिमेटेड फिल्मलाई माध्यम बनाउँदै नेपालका तीन विश्वविद्यालयमा सांस्कृतिक आदान–प्रदान, आपसी सिकाइ र संवादलाई प्रवर्द्धन गरेको आयोजकले जनाएको छ।
प्रदर्शनीमा न्यु गड्सस् याङ जियान, ह्वाइट स्नेक र लेजन्ड्स अफ हेइ २ सहित तीन चर्चित एनिमेटेड फिचर फिल्म प्रदर्शन गरियो। साथै एआई प्रविधिमा आधारित एनिमेटेड शृंखला द स्पिरिट अफ द माउन्टेन्स पनि प्रस्तुत गरिएको थियो। यी कृतिहरूले आधुनिक प्रविधि र परम्परागत चिनियाँ संस्कृतिको संयोजनमार्फत चिनियाँ एनिमेशन उद्योगको विकास र अन्तर्राष्ट्रिय प्रभावलाई उजागर गरेका थिए।
फिल्म प्रदर्शनसँगै ‘प्रदर्शन अन्तरक्रिया’ ढाँचामा कार्यक्रम सञ्चालन गरिएको थियो। प्रदर्शनअघि परिचयात्मक सत्र र प्रदर्शनपछि सर्जकहरूसँग प्रत्यक्ष अनलाइन संवादको व्यवस्था गरिएको थियो। यस क्रममा निर्माता याङ बिचेनलगायत उद्योग प्रतिनिधिहरूसँग नेपाली प्राध्यापक तथा विद्यार्थीहरूले एनिमेशन निर्माण प्रक्रिया र सृजनात्मक पृष्ठभूमिबारे छलफल गर्ने अवसर पाए।
आयोजकका अनुसार प्रदर्शनीले नेपाली शिक्षक तथा विद्यार्थीहरूलाई चिनियाँ एनिमेशन क्षेत्रमा भइरहेका नवीनतम प्राविधिक अभ्यासबारे प्रत्यक्ष जानकारी प्रदान गर्नुका साथै हिमालयन रिम क्षेत्रका फिल्म समुदायहरूबीच सहकार्यको सम्भावना विस्तार गरेको छ। यसले नेपाली चलचित्र उद्योगलाई आफ्नै सांस्कृतिक सन्दर्भअनुसार विकासका नयाँ बाटो खोज्न प्रेरणा मिलेको बताइएको छ।
फिल्मलाई सभ्यताबीचको सेतुका रूपमा प्रयोग गर्दै सम्पन्न प्रदर्शनी चीन–नेपाल सांस्कृतिक आदान–प्रदानको अन्त्य नभई नयाँ सुरुआत भएको आयोजकको निष्कर्ष छ। प्रदर्शनीपछिका छलफल र कार्यशालामार्फत सृजनशीलता, संस्कृति र प्रविधिबीचको सम्बन्धलाई अझ गहिरो बनाउँदै भविष्यका अन्तरसांस्कृतिक सहकार्यका लागि बलियो आधार तयार भएको जनाइएको छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend