बुटवल ३ मङ्सिर । रुपन्देहीको भैरहवामा आजदेखि सातौँ लुम्बिनी महोत्सव–२०८२ ९उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्द्धन० सुरु भएको छ ।
चेम्बर अफ कमर्स, रुपन्देही उद्योग व्यापार सङ्गठन, रुपन्देही०को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा ‘स्थानीय बजारमा खरिद गरौँ, स्थानीय बजारको प्रवर्द्धन गरौँ, स्वदेशी वस्तुको प्रयोग गरौँ, स्वाभिमानी नेपालीको पहिचान बनाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको महोत्सव मङ्सिर २१ गतेसम्म सञ्चालन हुने छ ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने बताए ।
महोत्सवको एक समारोहका बीच लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेय र सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खाँले संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्नुहुँदै मन्त्री पाण्डेयले नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट नै आर्थिक समृद्धितर्फ लैजान सकिने भएको सबैले ध्यान दिनु पर्ने बताए । उनले ठाउँ ठाउँमा चेकिङका नाममा पर्यटकलाई दुःख दिन नहुने बताए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँलेले आर्थिक मन्दीको बेला वर्तमान सरकार सचेत भएर जनताको पक्षमा काम गर्नुपर्ने बताए । सातौँ लुम्बिनी महोत्सवमा करिब १ करोड खर्च हुने र करिब १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएका छन् ।करिब ५ करोड रुपैयाँ बराबरको कारोबार हुने आयोजकको भनाइ छ ।