काठमाडौँ ।
नेपाली कांग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समयानुकूल नभएको बताएका छन् । बुधवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले नेपालको शिक्षा नीति अरूको लागि उत्पादन गरिदिने थलो भएको तर नेपालका लागि र नेपालीका लागि योग्य जनशक्ति उत्पादन गर्न असक्षम भएको बताए । उनले नेपालको समयानुकूल शिक्षा नीति नहुँदा विद्यार्थीहरू विदेश पलायन भइरहेको बताए ।
उनले प्राथमिक शिक्षा, क्याम्पस शिक्षा र उच्च शिक्षा गरी तीन क्षेत्रमै नेपालमा चुनौती रहेको भन्दै समयानुसार पाठ्यक्रमको विकास गर्नुपर्नेमा जोड दिए ।
‘हाम्रो नेपालको शिक्षा नीति अरूको लागि उत्पादन गरिदिने थलो भयो, नेपालका लागि र नेपालीका लागि गर्न सकेन । नभन्दै अहिले हामीले हाम्रा युवाहरू बाहिर जान्छन्, त्यही शिक्षाको परिणाम हो यो’ उनले भने, ‘हामीले तल्लो तह, क्याम्पस र उच्च शिक्षामा यी तीनै क्षेत्रमा हाम्रा धेरै चुनौती छन् । हाम्रो पाठ्यक्रम पनि हामीले राम्रो बनाउन सकेनाै । समयानुकूल छैन, परीक्षा प्रणाली पनि समयानुकूल छैन, नतिजा पनि समयमा निस्किँदैन ।’
उनले विश्वविद्यालय बेरोजगार उत्पादनको केन्द्र बनिरहने हो भने विश्वविद्यालय सञ्चालन भइरहनुको अर्थ नरहेको जिकिर गरे । उनले नतिजा समयमा ननिस्किने, परीक्षा समयमा नहुने, पाठ्यपुस्तक समयमा नै विद्यार्थीले नपाउने लगायतका समस्या अहिले पनि विद्यमान रहेको बताए ।
‘हाम्रो विद्यार्थीले १० कक्षा पास गर्दा सामान्य कुरा पनि बुझेको हुँदैन, उसले कुनैपनि कुरा बुझेको हुँदैन, नेपाल, नेपालको स्थिति केही बुझेको हुँदैन, यस्तो कुरा मैले कतै पनि देखेको छैन’ भण्डारीले भने, ‘विश्वविद्यालय बन्द गरौँ, किन तलब ख्वाएर राख्ने, बेरोजगारीको थुप्रो उत्पादन गर्ने विश्वविद्यालय किन चाहियो, यो मैले ७ वर्षअघि भनेको हो, अझै पनि त्यही छ ।’
सांसद भण्डारीले नेपालमा कुन शिक्षाको प्रणाली अपनाउने हो त्यो स्पष्ट हुनुपर्ने बताए । उनले नेपालमा नयाँ तरिकाबाट शिक्षाका बारेमा नसोचेसम्म विद्यार्थीहरुले पलायन हुने क्रम नरोकिने दाबी गरे ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend