काठमाडौं ।
लोकरक सांगीतिक समूह नेपथ्यले कोलोराडोबाट अमेरिका टूर थालेको छ । टूरको पहिलो प्रस्तुति कोलोराडोको बोल्डरमा सम्पन्न भयो । दुई घण्टा लामो कन्सर्टपछि सहभागि दर्शकले उत्साह व्यक्त गरेको ब्याण्डले जारी गरेको वक्तव्यमा उल्लेख छ ।
कोलोराडो राज्यकै ऐतिहासिक धरोहर मध्येमा पर्ने झण्डै सवा एक सय वर्ष पुरानो बोल्डर थिएटरमा तीन दशकदेखि सेवारत रोब भन्दै थिए- ‘मञ्चबाट आएको कलाकारको आवाजभन्दा दर्शकहरुको सामूहिक गायन चर्को हुँदा, ध्वनि व्यवस्थापन गर्न चुनौतिपूर्ण हुन्छ, यो कार्यक्रममा मलाई त्यस्तै अनुभव भयो ।’
अमेरिकाका सात सहरमा कन्सर्ट गर्ने ब्याण्डको योजना छ । आइतबार ठ्याक्कै सात बजे कन्सर्ट सुरु भयो । पर्दामा ‘सा कर्णाली’ र ‘मै मरि जाउँला’ गीतकासुरुवाती प्रस्तुति चाहिँ ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । त्यसलाई ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ ले निरन्तरता दियो । ४० दिनमा सात कार्यक्रमको कार्यसूचीसहित कोलोराडोको डेनवर पुगेको नेपथ्यको पहिलो कार्यक्रम आत्मीय रहेको अनुभव ब्याण्डका अमृत गुरुङ सुनाउदै थिए ।
‘पर्वतीय राज्य कोलोराडोको यस बोल्डर शहरले हाम्रै काठमाडौलाइ भगीनी शहर घोषणा गरेको तथ्यले थप आत्मीयता बढाएको छ,’ अमृतले भने– ‘दुवै शहरका नगरप्रमुखहरु बीच यहाँ एक नेपाली साँस्कृतिक केन्द्र पनि स्थापना गरिने सहमति भएकोमा त्यो चाँडै कार्यान्वयनमा पुगोस् भन्ने कामना गर्दछु ।’
कन्सर्टको अन्त्यतिर गुरुङले ‘गाउँगाउँबाट उठ’ सुनाएपछि हलभित्र उफ्रिने दर्शकको संख्या बढ्न थाल्यो । त्यसपछि ‘रेशम’, ‘तालको पानी’ र अन्तिम गीत ‘रातो र चन्द्रसूर्जे’सम्म पुग्दा क्रमशः दर्शकहरुमा उत्तेजनाको पारो बढ्यो ।
कन्सर्टमा मुख्य गायक अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए ।स्थानीय आयोजक ‘कोसेली कोलोराडो’ समूहले ब्याण्डको प्रस्तुति कोलोराडो राज्यमा आजसम्मकै सबैभन्दा ठूलो नेपाली कार्यक्रम रहेको बताएको छ । दोस्रो कन्सर्ट अमेरिकाको पश्चिमी तटीय समृद्ध सहर सान–फ्रान्सिस्कोमा हुनेछ । त्यहाँस्थित ‘वारफिल्ड थिएटर’ मा अगस्ट १० तारिखका दिन नेपथ्य आठ वर्षको अन्तरालपछि फेरि प्रस्तुत हुँदैछ ।त्यसपछि ओहायो राज्यको राजधानी कोलम्बस, टेक्सासको डालास, न्युयोर्क, मेरिल्याण्ड र अन्त्यमा पेन्सिलभेनियाको ह्यारिसवर्गमा प्रस्तुत हुनेछ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend