बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिमा फोहर व्यवस्थापनको विषयले तनाव उत्पन्न भएको छ । नगरपालिकाले फोहर फाल्दै आएको डण्डा खोला नजिकका स्थानीयले बिरोध गर्दै नगरपालिका कार्यालय अगाडि बिरोध प्रदर्शन गरेका छन् । स्थानीयको माग विपरित नगरपालिकाले आइतबार राती प्रहरी प्रशासनसहितको शक्ति प्रयोग गरेर खोलामा फोहर फाल्न खोजेपछि स्थानीय थप आक्रोसित भएका छन् ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष दीपक कुमार थापाले छापामार शैलीमा आइतबार राती ९ बजे फोहोर फाल्ने प्रयास गरिएकोप्रत्ति आपत्ति जनाए । उनले भने, ‘प्रहरी–प्रशासन लगाएर नगरप्रमुखज्यूले तानाशाह प्रवृत्ति देखाउनुभयो । अब हामी एकजुट भएर अघि बढ्छौं ।’
सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले वर्षौदेखि वडाबासी समस्यामा परेको बताए । उनले सिद्धार्थनगर नगरपालिकाले समस्या समाधानका लागि दीर्घकालिन योजना बनाउनुपर्ने बताए । उनले भने, ‘बल प्रयोग गरेर समस्याको समाधान हुन सक्दैन । समाजमा सबैलाई समेटेर अघि बढ्नुपर्छ ।’
विगत ४ दिनयता नगरपालिकाले फोहोर फाल्दै आइरहेको ठाउँमा स्थानीयले अवरोध गरेपछि समस्या समाधान हुन सकेको छैन । सिद्धार्थनगरमा संकलित फोहोर सिद्धार्थनगर–२ स्थित मेउडिहवा नजिकै डण्डाखोलामा थुपार्ने गरिएको छ । फोहोर फाल्दै आएको स्थानको नजिकै पक्लिहवा कृषि क्याम्पस र सशस्त्र प्रहरी बल २७ नम्बर गण पनि रहेको छ ।
समस्या समाधानका निम्ति लागिपरेको छु : मेयर खाँ
सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खानले आफूले नगरपालिकाको जिम्मेवारी सम्हालेदेखि नै फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्या समाधानका निम्ति लागिपरेको दावी गरेका छन् । उनले तिहारसम्म समय दिन आग्रह गरेको बताए । उनले भने, ‘कुनै प्रकारको झै-झगडा नहोस् भन्ने उद्देश्यले फोहोर फाल्ने स्थानमा सुरक्षाका लागि प्रहरी गएको हो । पूर्वाधार बनाउन पनि केही समय त लाग्छ । ’
विगत ३२ सालदेखि फोहोरमैला सम्बन्धी समस्या रहेको र नागरिक पीडामा रहेको कुरा आफूले बुझेको नगरप्रमुख खानले बताए । उनले भने, ‘केही समय त हामीलाई पनि दिनुपर्यो नी । यो सार्वजनिक महत्वको कुरा हो । सबैले चासो लिनुपर्छ । म नगरपालिकामा काम गर्न आएको हुँ ।’
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend