यही विषयमा सुरु भएको विरोध प्रिन्सिपल पाठकको राजीनामा माग र उपचार सेवा नै बन्द गर्ने हदसम्म पुगेको छ ।
विद्यार्थीहरुले पि्रन्सिपल पाठकले राजीनामा दिनुपर्ने, नयाँ ड्रेसकोड खारेज गर्नुपर्ने, इन्टर्नसीपको पारिश्रमिक बढाउनुपर्ने, परीक्षा दिन प्रतिबन्ध लगाइएका विद्यार्थीहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने लगायतका माग राखेका छन् । यी माग पूरा गर्न दबाब दिने उद्देश्यले विद्यार्थीहरुले रिले अनसन सुरु गर्ने चेतावनी दिएका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको पहलमा आइतबार चार घण्टा बढी समय कलेज प्रशासन र विद्यार्थीहरुबीच वार्ता भएको थियो ।
आइतबार आन्दोलनरत विद्यार्थी र कलेज प्रशासनबीच वार्ता भइरहेको समयमा माग सम्बोधन नगरी प्रिन्सिपल पाठकलाई भगाइएको र विद्यार्थीमाथि बल प्रयोग गरी केही विद्यार्थीलाई घाइते बनाएको विद्यार्थीको आरोप लगाएका थिए । उक्त वार्ता विनानिष्कर्ष सकिएको थियो ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आफूले समस्या समाधानका लागि सर्वदलीय, सर्वपक्षीय बैठक राखेर गरेको निर्णय अनुसार प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गरेको बताएका छन् ।
वार्ता गर्दा पनि विद्यार्थीहरु प्रिन्सिपल पाठकलाई ‘बन्धक’ अवस्थाबाट मुक्त गर्न नमानेपछि मागका सम्बन्धमा वार्ता गर्दै जाने तर प्रिन्सिपललाई त्यो अवस्थामा राखिराख्न हुँदैन भनेर मुक्त गरिएको अर्यालले बताए ।
प्रिन्सिपल पाठकलाई कलेजको पाँचौं तलाबाट विद्यार्थीहरुले नै वार्तास्थलमा ल्याएको उनले जानकारी दिए ।
विद्यार्थीका जायज मागहरू कलेज प्रशासनले माग सम्बोधन गरी पठनपाठन र उपचार सेवा सुरु गर्नेतर्फ ढिला गर्न नहुने सुझाव आफूले दिएको अर्यालले बताए । विद्यार्थीहरुले आरोप लगाएजस्तो प्रशासनले बल प्रयोग र हस्तक्षेप नगरेको उनले दाबी गरे ।