logo
  • शुक्रबार, असोज ३० २०८३

सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु


  • सोमबार, भाद्र १८ २०८०

१८ भदौ, धनगढी ।

सेती प्रादेशिक अस्पतालमा सुत्केरीको मृत्यु भएको छ । अवधि नपुग्दै व्यथाले च्यापेपछि प्रादेशिक अस्पताल भर्ना भएकी जोशीपुर गाउँपालिका–४ लालपुर वाणी बस्ने २५ वर्षीया राधा परियारको मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी मेखराज उपाध्यायले बताए ।

सूचना अधिकारी उपाध्यायका अनुसार शल्यक्रिया गरेर मृत नवजात शिशुलाई जन्म दिएकी परियारको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो ।

उपाध्यायका अनुसार शल्यक्रिया गरेर परियारको गर्भमा रहेको शिशु निकालिएको थियो ।  सो क्रममा शरीरमा अक्सिजनको मात्रा कम भएपछि शुक्रबार सेती अस्पतालमा आएकी परियारको सोमबार शल्यक्रिया पश्चात् मृत्यु भएको हो।

शल्यक्रिया गरेर निकालिएको शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् मृतक परियार मुर्छा परेको र आइसीयूमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ।
तर, मृतका आफन्तले भने अस्पतालका ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको आरोप लगाएका छन्। मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्यु हुन पुगेको बताइन् ।

शुक्रबार अस्पताल ल्याएर भर्ना गर्दा पनि ठिक समयमा शल्यक्रिया नगरेको कल्पनाले बताइन्। ‘हामी बहिनीलाई लिएर शुक्रबार अस्पताल आएका हौँ। आइतबारसम्म हाम्रो मान्छेको शल्यक्रिया गरिएन। बच्चाको टाउको ठूलो थियो भन्ने थाहा हुँदाहुँदै पनि समयमा शल्यक्रिया नगर्दा आमा र बच्चाको ज्यान गएको छ। यसको जिम्मेवारी अस्पतालले लिनुपर्छ। हामी शव उठाउन्नौँ,’ कल्पनाले भनिन्।

तीन दिनसम्म अस्पतालमा राख्दा पनि सामान्य सुत्केरी हुन्छ भनेर नर्स र डाक्टरले शल्यक्रिया गर्न नमानेको मृतक राधाकी काकी हेमा परियारले बताइन्।

‘व्यथा लागिसकेपछि टाउको ठुलो छ अप्रेसन गर्न भन्यौँ। तर उहाँहरूले नर्मल बच्चा जन्मिन्छ भन्नुभो। जब पाठेघरको पानी सक्किएर ब्लिडिङ हुन थाल्यो तब हत्तपत्त बिरामीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गरियो। राधा पेटको बच्चाको मृत्यु हुनुमा अस्पताल जिम्मेवार छ,’ हेमाले आक्रोशित हुँदै भनिन्।

लामो समयसम्म व्यथा लागेकाले शल्यक्रिया गर्न अनुरोध गर्दा ड्युटीमा रहेका नर्सहरूले उल्टै थर्काएको र अरु अस्पताल लगेर जानू भनेको हेमा र कल्पनाले बताएका छन्। उनीहरूले अस्पतालका नर्सहरूमा बोल्ने सभ्यतासम्म नभएको, बिरामीको पीडा र अवस्था बुझ्न नआउने गरेकाले राधाको मृत्यु हुन पुगेको बताएका छन्।अस्पताल प्रशासनले यो विषयमा बुझेर थप टिप्पणी गर्ने बताएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend