४ भदौ, काठमाडौं ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रदेशको नामाकरणको विषयमा स्व. प्रदीप गिरीले दिएको विचारसँग नेपाली काँग्रेस सहमत हुनसके सामाजिक द्वन्द्व हटाउन सकिने बताएका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित स्व. प्रदीप गिरीको स्मृति सभाको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘प्रदीप गिरीले संविधान निर्माणको बेलामा राख्नुभएको विचारलाई मात्रै हेर्ने हो भने खास गरी हाम्रो नेपालको संघीयतालाई अघि बढाउने विषयका सन्दर्भमा उदारतापूर्वक नेपाली काँग्रेस जस्तो मूल राजनीतिक पार्टीले नामाकरण जस्तो विषय गर्दैगर्दा पहिचानको कुरालाई प्राथमिकता दिएर गर्नुपर्छ । यदि यसलाई गर्यौँ भने हामीले समाजको द्वन्द्वलाई चिर कालसम्म मेट्न सक्छौँ भन्नेकुराको प्रेरणा प्रदीप दाईको भनाइबाट पाउन सक्छौँ ।’
उनले आफू केही दिनअघि मात्रै झापा र इलाम पुगेर आएको भन्दै कोशी प्रदेशमा नामाकरणको विषयलाई लिएर स्थिति थप पेचिलो बन्दै गइरहेको उल्लेख गरे ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend