logo
  • शुक्रबार, असोज ३० २०८३

चीन भ्रमणमा हिल्सा सडक प्राथमिकतामा छ : प्रधानमन्त्री


  • सोमबार, भाद्र ४ २०८०

४ भदौ, सुर्खेत ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी महिना हुने आफ्नो चीन भ्रमणमा सुर्खेत-हिल्सा सडक निर्माणलाई प्राथमिकता दिने बताएका छन् ।

कर्णाली प्रदेश स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले आफ्नो चीन भ्रमण उपलब्धीमूलक हुने आशा गरेको पनि बताए ।

उनले भने, ‘हिल्सा-सुर्खेत सडक निर्माणबारे मेरो अब हुन लागेको चीन भ्रमणमा प्राथामिकतामा पनि छ । मलाई विश्वास छ, यसपटक हामी यसमा ठूलो फड्को हान्ने छौं । अहिले यतिनै भने ।’

प्रधानमन्त्री प्रचण्डले भेरी, कर्णाली करिडोर लगायतका ठूला सडक परियोजना संघीय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । ‘प्रदेशको मेरुदण्डका रुपमा रहेका कर्णाली, भेरी कोरिडोर, कर्णाली राजमार्ग, राप्ती लोकमार्ग लगायतका महत्वपूर्ण सडक निर्माणमा मेरो ध्यान गएको छ’, उनले भने ।

प्रधानमन्त्री प्रचण्डले कर्णालीका कच्ची र कमजोर सडकले दुर्घटनाको जोखिम बढेकोेबारे आफू जानकार रहेको भन्दै  यहाँको सडक पूर्वाधार विकासमा संघीय सरकारले विशेष जोड दिने बताए । ‘बेरोजगारी र अभावले हजारौं युवा मुग्लान पसिरहेको अनुभूति पनि छ । उपचार नपाउँदा गर्भवतीको अकालमा ज्यान जाने गरेको भयावह स्थिति पनि अनुभूति गरेको छु’ उनले भने, ‘कर्णालीको अभाव, गरिवी र भूगोलमा म बसेकोे छु । कर्णालीको विकास केन्द्रको प्राथामिकतामा छ, मेरो प्रथामिकतामा छ ।’

प्रधानमन्त्री प्रचण्डले कर्णालीमा परिवर्तन महसुस हुने गरी काम गर्ने पनि बताए ।

कार्यक्रममा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले भेरी करिडोर र कर्णाली करिडोरलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डले आग्रह गरे ।

‘भेरी र कर्णाली करिडोरलाई सरकारले राष्ट्रिय गौरवको आयोजना राखेर निर्माण गरिदिए पुग्छ’, उनले भने, ‘यहाँ आउँदा कर्णाली तपाईंहरुको प्रथामिकतामा पर्छ होला तर सिंहदरबार पुगेपछि कर्णाली केन्द्रको प्राथामिकतामा पर्दैन ।’

कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीले पनि सुर्खेत–हिल्सा सडक निर्माणलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend