बुटवल ।
रूपन्देही क्षेत्र नम्बर ५ मा आइतबार आयोजित नेपाली कांग्रेसको एक कार्यक्रममा नेताहरू बीच झन्डै हात हालाहालको स्थिती सिर्जना भएको छ । काँग्रेस नेता पूर्व सांसद भरतकुमार शाह र फखरुद्दीत खान बीच मञ्चमै झन्डै हात हालाहालको स्थिती सिर्जना भएको हो ।
सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने शाहले महासमिति सदस्य खानलाई लक्षित गर्दै ‘तपाईंजस्ता मान्छे कांग्रेसमा धेरै आए’ भनेपछि विवाद उत्पन्न भएको थियो।
शाहले यस्तो भन्दै गर्दा मञ्चमै रहेका खानले उठेर प्रतिवाद गरेका थिए।कार्यक्रममा खानले पहिले बोलेका थिए। उनीपछि बोल्न आएका शाहले भने, ‘नेपाली कांग्रेस बुझ्न समय लाग्छ।
कांग्रेस त्यत्तिकै बुझिँदैन। तपाईंजस्ता मान्छे धेरै आइसके। मसिना बाबा हुनुहुन्थ्यो, जोतेन्द्रमोहन चौधरी हुनुहुन्थ्यो, छविलाल भुसाल हुनुहुन्थ्यो। उनीहरू कहाँ गए ? रामनारायण यादव यहीँ हुनुहुन्छ, उहाँ पनि २०४८ सालबाट कांग्रेसमा हुनुहुन्छ।’
शाहले यति भनेपछि खान उठेर ‘तपाईंले भन्न के खोज्नुभएको’ भन्दै थर्काएको प्राप्त एक भिडिओमा देखिन्छ। शाह गएको प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ५ मा पराजित भएका थिए भने खान क्षेत्र नम्बर ५ ‘ख’ बाट प्रदेशसभा निर्वाचनमा पराजित भएका थिए।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend